रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। उनले सोमबार एक विज्ञप्ति जारी गर्दै कानुनी कारण देखाउँदै यो निर्णय गरेको जानकारी गराएकी हुन्।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बसोबास गर्दा प्राप्त स्थायी आवास अनुमति वा त्यस्तै किसिमको कार्ड परित्याग गरेको मितिदेखि कम्तीमा तीन महिना पूरा भएपछि मात्र निर्वाचनमा उम्मेदवार बन्न पाइने व्यवस्था छ। सो अवधि पूरा नभएकाले आफूले उम्मेदवारी फिर्ता लिएको थापाले उल्लेख गरेकी छन्।
विज्ञप्तिमा उनले पार्टी नेतृत्वको आग्रह र संविधानको मर्म तथा भावनालाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको स्पष्ट पारेकी छन्। अध्ययनका क्रममा विदेशमा रहँदा स्थायी आवास अनुमति लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक कुनै पनि विदेशी नागरिकता वा राहदानी नलिएको उनको दाबी छ।
स्थायी आवास अनुमति परित्याग गरेपछि तोकिएको तीन महिने समय नपुगी उम्मेदवारी दिन नमिल्ने कानुनी प्रावधानबारे जानकारी पाएपछि आफूले निर्णय सच्याएको उनले बताएकी छन्।
उम्मेदवारी फिर्ता लिए पनि देशसेवाप्रतिको प्रतिबद्धता कायम रहने भन्दै उनले राजनीति भित्र वा बाहिर रहेर प्रविधि, उद्यमशीलता, युवा तथा महिला सशक्तिकरण र सुशासनका क्षेत्रमा सक्रिय रहने जनाएकी छन्। साथै, उचित समय र स्पष्ट कानुनी आधार तयार भएपछि पुनः जनतामाझ उभिने उनको भनाइ छ।