रूकुम पूर्व - फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूकुम पूर्वमा १२ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गरिसकेका छन्। तीमध्ये सबैभन्दा चासोको विषय बनेका उम्मेदवार हुन् भूमे गाउँपालिका–९, चुनवाङका २८ वर्षीय सन्दीप पुन। उनले हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका छन्।
पूर्वअर्थमन्त्री जनार्दन शर्मा र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षक रहेको सो पार्टीबाट सन्दीपले उम्मेदवारी दिएका हुन्। यही निर्वाचनमा उनी ७१ वर्षीय पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल (प्रचण्ड)सँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्।
सन्दीपका अनुसार पार्टी विभाजन हुनुअघि नै रूकुम पूर्वबाट चुनाव लड्ने निर्णय भइसकेको थियो। उनले प्रचण्ड जानीजानी रूकुम पूर्वमा चुनाव लड्न आएको दाबी गर्दै स्थानीय स्तरमा उनको नाम सिफारिससमेत नभएको बताएका छन्। ३१ वडा र तीन गाउँपालिका रहेको रूकुम पूर्वमा करिब ३४ हजार ५ सय मतदाता रहेको र आफू उम्मेदवार बनेपछि युवाहरू र सहिद परिवारहरू उत्साहित भएको उनको भनाइ छ।
शैक्षिक पृष्ठभूमितर्फ सन्दीपले काठमाडौंको ह्वाइटहाउस कलेजबाट बायोटेक्नोलोजीमा स्नातक गरेका छन्। विगत तीन वर्षदेखि भूमे गाउँपालिकामै व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्दै आएका उनी विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा आएका हुन्। अखिल क्रान्तिकारी हुँदै हाल उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका केन्द्रीय अध्यक्षसमेत छन्।
उनको पारिवारिक इतिहास माओवादी आन्दोलनसँग गहिरो रूपमा जोडिएको छ। बाल्यकालमै आमाबुवा गुमाएका सन्दीपले कठिन जीवन पार गर्दै शिक्षा र राजनीति दुबै क्षेत्रमा आफूलाई स्थापित गरेका छन्।