म्याग्दी । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई नेसनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ। पार्टीका तर्फबाट उम्मेदवार बनेका तुलप्रसाद गर्बुजाले पुनलाई साझा उम्मेदवार बनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्।
बिहीबार जारी विज्ञप्तिमा गर्बुजाले पार्टीको दर्शन, विचार र सिद्धान्तअनुसार वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनलाई सर्वसम्मत साझा उम्मेदवार बनाएर निर्विरोध निर्वाचित गराउनुपर्ने निष्कर्षसहित उम्मेदवारी फिर्ता गर्ने निर्णय गरिएको जनाएका छन्। उनले शुक्रबार आयोगले तोकेको समयसीमाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा नाम फिर्ता गर्ने जानकारी दिए।
यसै पार्टीबाट अघिल्ला निर्वाचनमा उम्मेदवार बनेका डिके पुन, ओमराज मगर र दीपक पुनले पनि महावीर पुनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। अन्नपूर्ण गाउँपालिका-८, नांगी गाउँमा जन्मिएका र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका महावीर पुन यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका हुन्।