धरान । धरान–१३ जिरो प्वाइन्टमा आइतबार भएको स्कुल बस दुर्घटनामा घटनास्थलमै पाँचजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
भेडेटारबाट धरान आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक औषधि पसलमा ठक्कर दिँदै दुर्घटनाग्रस्त भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमध्ये महोत्तरीको गैडाबिदपुरका स्कुल सञ्चालक ३१ वर्षीय धैरिया कुमार यादव, जनकपुर घर भएका १८ महिनाका रियव कुमार मण्डल छन् । अन्य तीनजनाको नाम खुलेको छैन ।बसमा सवार ११ जना घाइते भएका छन् ।
घाइतेहरूमा धरान १३ का ४३ वर्षीय यसोदा श्रेष्ठ, जनकपुर घर भएका २३ वर्षीय लक्ष्मी मण्डल, १८ वर्षीय राजा बाबु, २४ वर्षीय रोहित मण्डल, ४० वर्षीया मनिता देवी मण्डल छन् ।
यस्तै ३८ वर्षीय जितेन्द्र मण्डल, ४० वर्षीय सुनेनादेवी मण्डल, १८ वर्षीय रोहन मण्डल, २५ वर्षीया रिता मण्डल, ३८ वर्षीय जितेन्द्र मण्डल र बस चालक २५ वर्षीय मोहम्मद गुलाल रहेका छन् । एकजनाको नाम खुलेको छैन ।
घाइतेहरूको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी भीषण बाबु राईले बताए । दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठक्कर दिँदा पसल समेत क्षतिग्रस्त भएको छ । एक स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।