काभ्रेपलाञ्चोक। नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुरस्थित हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा गुमेको ठूलो रकममध्ये करिब १ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम प्रहरीले बरामद गरेको छ। स्थानीयवासीको सक्रिय सहयोगमा विभिन्न स्थानबाट उक्त रकम फेला परेको हो।
लुटेराहरू भाग्ने क्रममा स्थानीयको होहल्ला भएपछि केही रकम भरिएको बोरा बाटोमै छाडेर फरार भएका थिए। त्यसपछि गरिएको खोजतलासका क्रममा घटनास्थलबाट करिब २–३ किलोमिटर वरपरको क्षेत्रभित्र थप रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार ५ देखि ६ जनाको समूहले बैंकबाट ३ करोड १० लाख रुपैयाँभन्दा बढी रकम लुटेका थिए। मंगलबार राति करिब ८:४० बजेको समयमा लुटेराहरूले बैंकका सुरक्षा गार्डलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाएका थिए। त्यसपछि बैंकका कर्मचारीलाई पनि नियन्त्रणमा लिएर नगद रकम लुटेर फरार भएका थिए।
घटनामा प्रयोग भएको काभ्रेको बनेपाबाट रिजर्भ गरिएको बा २ झ ०३९८ नम्बरको सुमो जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकले केटी भगाउने बहानामा गाडी रिजर्भ गरिएको जानकारी दिएका छन्। प्रहरीले लुटपाटमा संलग्न समूहको खोजी तथा घटनासम्बन्धी अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।