काठमाडौँ । डिभिजन वन कार्यालय, कैलालीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा काटिएको ५३१.४८ क्युफिट सालको चिरान काठ बरामद गरेको छ। वरिष्ठ डिभिजन वन अधिकृत रामविचारी ठाकुरका अनुसार कार्यालय तथा मातहतका निकायले नियमित वन गस्तीका क्रममा पछिल्लो एक महिनामा अवैध रूपमा कटान गरिएको उक्त काठ नियन्त्रणमा लिएको हो।
चुरे गाउँपालिका–५ स्थित मौरीगाउँबाट बेवारिसे अवस्थामा रहेको १४९.९८ क्युफिट सालको काठ फेला परेको छ भने सोही स्थानको सलानी क्षेत्रबाट थप ६८.६६ क्युफिट काठ बरामद गरिएको छ। त्यसैगरी, गौरीगङ्गा नगरपालिका–६ को ब्राहवन साझेदारी क्षेत्रबाट २५.२८ क्युफिट सिसौको काठ पनि नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ। यसैबीच, चुरे गाउँपालिका–२ खैरा क्षेत्रबाट विभिन्न मितिमा २८७.५७ क्युफिट सालको चिरान काठ बरामद गरिएको वरिष्ठ डिभिजन वन अधिकृत ठाकुरले जानकारी दिए । उनका अनुसार वन कर्मचारीहरूको सक्रियता र निगरानीका कारण वन क्षेत्रबाट अवैध रूपमा कटान गरिएको काठ नियन्त्रणमा लिन सफल भएको हो।
चुरे क्षेत्रमा वन पैदावारको चोरी निकासी, वन्यजन्तुको अवैध सिकार तथा अतिक्रमणका घटनाहरू बढ्दै गएको गुनासो आएपछि गोप्य सूचनाका आधारमा संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी गरिएको उनले बताए। सबडिभिजनका कर्मचारीहरू तथा स्वयं वरिष्ठ अधिकारीसमेत स्थलगत रूपमा खटिएर अवैध काठ नियन्त्रण गरिएको उनको भनाइ छ। सामुदायिक वनका विभिन्न क्षेत्रबाट कटान गरी लुकाएर राखिएको अवस्थामा ती काठ फेला परेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ।