काठमाडौँ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदअन्तर्गत राष्ट्रियसभाको अधिवेशन माघ ४ गते बिहान ११ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिए। बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२–८३ देखि २०८६–८७ सम्मका लागि स्वीकृत गर्ने निर्णय गरेको छ। साथै मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ पनि स्वीकृत गरिएको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानबापत अमेरिकी डलर दुई लाख ८३ हजार ५०३ रकम उपलब्ध गराउने निर्णय गरिएको छ। बैठकले सन् २०२५ मार्चमा आएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण तथा गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार आर्थिक सहयोग प्रदान गर्ने निर्णय पनि गरेको छ। यसैबीच मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।