काठमाडौं । अस्ट्रेलियाले बालबालिकाका लागि लागु गरेको ऐतिहासिक सामाजिक सञ्जाल प्रतिबन्धको केही समयमै मेटाले पाँच लाख ५० हजार अकाउन्ट बन्द गरेको छ । गत डिसेम्बरदेखि लागु भएको नयाँ कानुनले इन्स्टाग्राम र फेसबुकसहित विश्वका लोकप्रिय सामाजिक सञ्जालहरूलाई १६ वर्षमुनिका अस्ट्रेलियाली नागरिकहरूलाई अकाउन्ट खोल्न वा राख्न दिन रोक लगाएको छ ।
बीबीसीका अनुसार विश्वभर निकै चासोका साथ हेरिएको यो प्रतिबन्धलाई अभियानकर्ता र सरकारले बालबालिकालाई हानिकारक सामग्री र अल्गोरिदमबाट जोगाउन आवश्यक कदमका रूपमा व्याख्या गरेका छन् ।
मेटालगायतका कम्पनीहरूले युवालाई अनलाइनमा सुरक्षित राख्न थप प्रयास आवश्यक रहेकोमा सहमति जनाएका छन् । यद्यपि, उनीहरूले पूर्णप्रतिबन्धको सट्टा अन्य उपायहरू अपनाउनुपर्ने तर्क गरिरहेका छन् । केही विज्ञहरूले पनि यस्तै चिन्ता व्यक्त गरेका छन् ।
नयाँ कानुनको पालना गर्ने क्रममा पहिलो हप्तामा मेटाले निम्न संख्यामा अकाउन्टहरू बन्द गरेको जानकारी दिएको छ । यसअन्तर्गत इन्स्टाग्रामका तीन लाख ३० हजार ६३९, फेसबुकका एक लाख ७३ हजार ४९७ र थ्रेड्सका ३९ हजार ९१६ अकाउन्ट बन्द गरिएका छन् । अमेरिकी राज्य फ्लोरिडादेखि युरोपेली संघसम्मका विभिन्न सरकारहरूले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा सीमा तोक्ने प्रयास गरिरहेका छन् । तर, अस्ट्रेलिया १६ वर्षको उच्च उमेर सीमा तोक्ने र अभिभावकको अनुमति भए पनि प्रयोग गर्न नपाउने विश्वकै पहिलो र सबैभन्दा कडा कानुन भएको देश बनेको छ ।