काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको आयोजकले दाबी गरेका छन्।
विशेष महाधिवेशनको उद्घाटनसत्रमा सञ्चालकले ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको जानकारी दिएका हुन्।
नाम दर्ता गर्नका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ तोकिएको छ।
यसरी बहुमतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर जनाउँदै विशेष महाधिवेशनको वैधानिकता कायम गरेका छन् ।
कांग्रेसमा देशभर ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । ५४ प्रतिशतले विशेष महाधिवेशन मागेका थिए । ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान कांग्रेसमा छ ।
यसअघि गत असोज २९ गते ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेका थिए। सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनेछ।