काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी निर्वाचनमा पार्टीले कम्तिमा ५० प्रतिशत नयाँ अनुहार समावेश गर्नुपर्ने बताएका छन्। आइतबार पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै चौधरीले कांग्रेसले नयाँ पुस्ताको भावना प्रतिनिधित्व गर्ने पार्टीको रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताए। उनले भने, हामी चाहन्छौं कि आगामी निर्वाचनमा कम्तिमा आधा जनसंख्या नयाँ अनुहारले प्रतिनिधित्व गरुन्।
राजनीति केवल पेशा होइन, समाज रूपान्तरण गर्ने महत्वपूर्ण प्लेटफर्म हो भन्ने मान्नेहरुलाई खुला अवसर दिइयोस्। त्यसैगरी, चौधरीले पछिल्ला ३५ वर्षमा पार्टीले सही बाटो पक्रिन नसकेको स्वीकार गर्दै भने, हामीले ३५ वर्षको अवधिमा बाटो बिराएका रहेछौं। कांग्रेसले सृजनशील, योग्य र सक्षम व्यक्तिहरुलाई सम्पूर्ण ढाँचामा स्वागत गर्ने राजनीतिक प्रणाली निर्माण गर्न सकेको छैन।