काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहित विभिन्न मन्त्रीहरू, राजनीतिक दलका नेता, बुद्धिजीवी, शुभेच्छुक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
समारोहमा पृथ्वी नारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, स्वाधीनता र पहिचानको विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले पृथ्वी नारायण शाहले आधुनिक नेपालको एकीकरणमा पुर्याएको योगदान स्मरण गर्दै उहाँको विचार र राष्ट्रनिर्माणको भावनालाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए। राप्रपाका नेताहरूले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने आवश्यकता औँल्याउँदै नेपाली इतिहास, संस्कृति र पहिचान संरक्षणमा पार्टी प्रतिबद्ध रहेको बताएका छन्। जलपान समारोहमा राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको बाक्लो सहभागिता रहेको थियो।