काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेस केवल राजनीतिक दल मात्र नभई लोकतान्त्रिक सभ्यता र संस्कृतिको प्रतिनिधि पार्टी भएको बताएका छन्। उनले समयअनुसार नेतृत्व र सोचमा परिवर्तन नगरे कांग्रेस अघि बढ्न नसक्ने स्पष्ट पारे।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै घिमिरेले पछिल्लो समयको राजनीतिक घटनाक्रमले दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए। विशेष गरी भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ ले देशको राजनीतिमा नयाँ मोड ल्याएको उनको भनाइ थियो। उनले कांग्रेसलाई पुरानै अवस्थामा राख्न नसकिने भन्दै पार्टीको मौलिक पहिचान जोगाउन सबै गम्भीर हुनुपर्नेमा जोड दिए। नेपाली कांग्रेस सभ्यता र संस्कृतिको पार्टी हो, उनले भने, संस्कृति भनेको बाहिरी पहिरन होइन, व्यवहार हो।
कांग्रेसको लोकतान्त्रिक संस्कृतिले नै यसलाई अरू दलभन्दा फरक बनाएको छ। घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ता र सदस्यप्रति गर्ने व्यवहार नै कांग्रेसको संस्कृतिको मापन हुने बताए। उनले यो लोकतान्त्रिक व्यवहार जोगाउनु नै वर्तमान चुनौती भएको उल्लेख गरे। साथै, उनले कांग्रेसको साधारण सदस्यदेखि नेतृत्व तहसम्म सबैको भूमिका पार्टीको दीर्घकालीन अस्तित्व र सुरक्षित भविष्यसँग जोडिएको बताए। लोकतान्त्रिक पद्धति र संगठनात्मक जीवनलाई मजबुत बनाउनु नै कांग्रेसको दीर्घ जीवनको आधार भएको उनको धारणा थियो।