काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीले विगतको योगदानको भरोसामा मात्र बस्दा भविष्य सुरक्षित नहुने बताएका छन्। उनले समयअनुसार पार्टीको सोच र कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै श्रेष्ठले जनताको चाहना र अपेक्षा बदलिँदै गएको उल्लेख गरे। त्यसअनुसार कांग्रेसले पनि आफूलाई नयाँ ढंगले अघि बढाउनुपर्ने उनको भनाइ थियो। उनले पार्टी नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्नुपर्नेमा जोड दिँदै युवाहरूलाई जिम्मेवारी दिन अब ढिलाइ गर्न नहुने बताए। “देश नै रहेन भने शासन कसका लागि गर्ने ? भन्दै उनले कांग्रेसले राणा शासन अन्त्यदेखि गणतन्त्र स्थापनासम्मको ऐतिहासिक भूमिका खेले पनि अब त्यसैको ‘ब्याज’ खाएर राजनीति चल्न नसक्ने स्पष्ट पारे। श्रेष्ठले वर्तमान पुस्ता फरक सोच र अपेक्षा बोकेर आएको भन्दै पार्टी सञ्चालनको शैली परिवर्तन अपरिहार्य रहेको बताए।
उनले नयाँ युवा र युवतीलाई देशका सबै क्षेत्रसम्म पुर्याएर राजनीतिक रूपमा सक्षम बनाउँदै चुनाव जित्ने तहसम्म पुर्याउनुपर्ने धारणा राखे। त्यसैगरी, गत भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ पछि देश जटिल मोडमा पुगेको उल्लेख गर्दै उनले गुट र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। म यहाँ कुनै व्यक्तिगत स्वार्थ लिएर आएको होइन, उनले भने,आज देशको अस्तित्वकै विषयमा गम्भीर बहस आवश्यक छ। अब गुटको कुरा छाडेर पार्टीभन्दा माथि उठी राष्ट्रियता जोगाउन एकताबद्ध हुनुपर्छ। पूर्वउपसभापति श्रेष्ठले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने चेतावनी दिँदै पार्टी सुदृढीकरणका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।