काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आइतबारदेखि सुरु हुन लागेको कांग्रेस विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सभ्य र भव्य बनाउन मञ्च व्यवस्थापनको काम पनि सकिएको छ ।
भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटनसत्रका लागि मञ्च सजाएर चिटिक्क पारिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको व्यवस्थापन गरिएको बताए ।
खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको पुडासैनीको भनाइ छ । मञ्चवरिपरि कांग्रेसको झण्डा, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।
दोस्रो विशेष महाधिवेशनको उद्घाटन भोलि दिउँसो १ बजे हुने बताइएको छ ।