काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सित एकता प्रक्रिया भंग हुँदा आफू अत्यन्तै मर्माहित भएको बताएका छन् ।
शनिबार (पुस २६) बेलुका काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो अवस्था आउँछ भन्ने आफूले कल्पनै नगरेको बताए ।
“अत्यन्तै मर्माहित छु, यो अवस्था आउँछ भन्ने लागेको थिएन,” उनले भने ।
आफूहरूलाई जबरजस्ती बाहिर राखिएको उनले जिकिर गरे । अब एक्लै भए पनि अगाडि बढ्नुपर्ने स्थिति आएको उनले सुनाए ।
“हामीले सबै त्यागेर आजसम्म पनि अगाडि बढौँ भनेका थियौँ । तर, रास्वपाले एकतर्फी एकता भंग भएको खबर सुनायो,” उनले भने, “संघीयता, संविधानको विषयमा पूरक सहमति गरौँ भनेर प्रस्ताव गरेका थियौँ । म साधारण सदस्य बन्छु, समानुपातिक सूची र केन्द्रीय सदस्यमा एड्जस गरौँ भनेका थियौँ ।”