काठमाडाैँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिएको बताएका छन् । शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका भवनहरु जलाइएको, धेरै क्षति गरिएको भएपनि खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिरहेको बताए । प्रहरी कर्मचारीहरुले दुःखको अवस्थामा आफ्नो दायित्ववोध गरेर अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिक रुपमा दिनुपर्ने दायित्ववोधका साथ काम गरिरहेको बताए ।
उनले कुनै पनि व्यक्तिगत इच्छा,आकंक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लाग्न निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कार्कीले सबैको जिम्मेवारी सभ्य नागरिक बन्ने हुनुपर्ने बताए । कानुन कार्यान्वयनले कानुनी शासन ल्याउने र कानुनी शासनले सुशासन, सुशासनले समृद्धि र समृद्धिबाट सभ्यता कायम रहने बताए ।