काठमाडौँ । । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डसँग सम्बन्धित कुनै पनि फाइल मन्त्रालयमा रोकिएर नरहेको स्पष्ट पारेका छन्। बोर्डबाट पठाइएका तथा मन्त्रालयमा प्राप्त भएका चलचित्रसम्बन्धी सबै फाइलको काम सम्पन्न भइसकेको उनको भनाइ छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री खरेलले आफूले कार्यभार सम्हालेको करिब दुई महिनाको अवधिमा सबैभन्दा धेरै समय चलचित्र क्षेत्रमै दिएको बताए।
उनले अन्य करिब २४ वटा निकायभन्दा बढी छलफल, संवाद र समन्वय चलचित्र क्षेत्रसँग गरिएको उल्लेख गरे।मन्त्री खरेलले भने,मैले जिम्मेवारी सम्हालेपछि चलचित्रसँग सम्बन्धित विषयमा धेरै समय दिएको छु। हिजोसम्मको अवस्थाअनुसार चलचित्र विकास बोर्डबाट आएका वा मन्त्रालयमा परेका कुनै पनि फाइल बाँकी छैनन्। मन्त्रालयले काम रोकेका कारण समस्या आएको भन्ने कुरा सत्य होइन। त्यस्तै, चलचित्र सेन्सरसम्बन्धी विषयमा पनि मन्त्रालयले आवश्यक काम अघि बढाइरहेको उनले जानकारी दिए। सेन्सर प्रक्रियाबारे देखिएका असन्तुष्टि समाधान गर्न सरकार र चलचित्रकर्मीहरू मिलेर स्पष्ट कार्यविधि तयार गरिएको मन्त्री खरेलको भनाइ छ।