काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले नेपालले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा तयारी गर्न धेरै ढिलाइ गरिसकेको बताएका छन्।
बिहीबार आयोजित ईयू–नेपाल व्यापार तथा लगानी संवाद कार्यक्रममा मन्त्री सिन्हाले भने, “मेरो विचारमा, हामीले यस विषयमा तयारी गर्न निकै ढिलाइ गरिसकेका छौं। व्यापार लागत, रसद र नियामक अवरोधका विषयमा छलफल भइसकेको भए पनि कार्यान्वयनमा सधैं पछाडि रह्यौं। अब युद्ध मोर्चाजस्तै ठोस कार्ययोजना आवश्यक छ।” उनले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्राथमिकता क्षयको विषयमा पनि नेपालले गम्भीर तयारी गर्नुपर्नेमा जोड दिए।
“हामी सधैं प्राथमिकता उपचार र राज्यको सहयोगमा निर्भर रहन सक्दैनौं। प्रतिस्पर्धी बन्न उत्पादनशीलता बढाउन, लागत घटाउन र गुणस्तरीय उत्पादनमा केन्द्रित हुनुपर्छ,” उनले बताए। मन्त्री सिन्हाले उत्पत्तिको नियम र आपूर्ति–पक्ष तयारीमा अझै धेरै काम बाँकी रहेको स्वीकार गर्दै सीमित समयभित्र ठोस रणनीति आवश्यक भएको बताए। उनले छलफल र विज्ञहरूको अनुभव आगामी दिनमा सरकारका लागि मार्गदर्शक रणनीति बन्न सक्ने पनि उल्लेख गरे। उनले नीति र प्रक्रियागत स्पष्टताको अभाव रहेको स्वीकार गर्दै भने, “प्रक्रियाहरू सरल बनाउने, अनावश्यक जटिलता हटाउने र स्पष्टता दिने प्रयासहरू अघि बढाइँदै छन्।” मन्त्री सिन्हाले छलफलबाट प्राप्त सिफारिसहरूलाई सरकारको कार्ययोजनामा समेट्ने प्रतिबद्धता पनि व्यक्त गरे।