देवदह । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन महत्वपूर्ण रहेको बताएका छन्।
उनले संविधान संशोधन तथा पुनर्लेखन, सङ्घीयतालाई मजबुत बनाउन तथा आमनागरिकलाई न्याय दिलाउन अबको निर्वाचनमा जसपा नेपाललाई जिताएर सरकार बनाउनुपर्नेमा जोड दिए।
पार्टीको लुम्बिनी प्रदेश समितिले आज रूपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधइमा आयोजना गरेको जनसभामा अध्यक्ष यादवले संविधानमा सबैको अपनत्व हुनेगरी परिमार्जन आवश्यक रहेको बताए।
‘जनसङ्ख्याका आधारमा भागेदारी चाहिन्छ, हरेक जातजाति, धर्म तथा सम्प्रदायले अपनत्व गर्ने संविधान आवश्यक छ,’ उनले भने।
उनले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकारसम्पन्न बनाउन आवश्यक रहेकामा जोड दिए।