काठमाडौँ। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री ले राष्ट्रिय सभालाई प्रभावहिन होइन, प्रभावकारी र सशक्त सदनका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन्। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारमा चयन भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले राष्ट्रिय सभा प्रभावहिन हुन्छ भन्ने आम बुझाइलाई चिर्दै यसलाई प्रभावकारी बनाउने दिशामा आफूले सक्रिय भूमिका खेल्ने स्पष्ट पारिन्।
उनले संविधान कार्यान्वयन र संस्थागत सुदृढीकरणमा राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्। उनले भनिन्, “राष्ट्रिय सभा प्रभावहिन होइन, बरु अत्यन्तै प्रभावकारी सदन हो। यसले धेरै महत्वपूर्ण कानून निर्माण र संशोधनमा भूमिका निर्वाह गर्दै आएको छ। अब हाम्रो टिमले राष्ट्रिय सभाका सदस्यहरूले पनि प्रभावकारी रूपमा काम गर्न सक्छन् भन्ने कुरा व्यवहारमै देखाउनुपर्छ।” संविधान तथा पार्टीका नीति–सिद्धान्तलाई स्थापित गर्न राष्ट्रिय सभाबाट आफूले योगदान गर्ने पनि उनले बताइन्।
राष्ट्रिय सभालाई विज्ञ र अनुभवी व्यक्तिहरूको सभा मानिने भएकाले त्यसअनुसार नयाँ अभ्यास र सकारात्मक परम्पराको सुरुवात गर्न आवश्यक रहेको उनको धारणा छ। नेतृ झाँक्रीले दलिय व्यवस्थामा व्यक्तिको भन्दा पार्टीको विचार, सिद्धान्त र कार्यक्रम नै केन्द्रमा हुने उल्लेख गर्दै पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “दलिय व्यवस्थामा हिरोइजम व्यक्तिको होइन, विचार र सिद्धान्तको हुन्छ। त्यसैले पार्टीले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गर्नु नै मेरो प्राथमिकता हुनेछ।”