काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूले यही २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्। बुधबार काठमाडौँमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत उनीहरूले पार्टीको विधानअनुसार विशेष महाधिवेशन अपरिहार्य भइसकेको भन्दै प्रतिनिधिहरूको उपस्थितिलाई अत्यन्त महत्वपूर्ण भएको बताएका हुन्।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता सुवास पोखरेलले पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकायको रूपमा परिभाषित गरेको उल्लेख गरे। उनले केन्द्रीय महाधिवेशनबाट गरिने निर्णयहरू स्वतः वैध हुने स्पष्ट पारे। पार्टी विधानको धारा १७ (१) अनुसार नेपाली कांग्रेसले २०८२ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था छ। यदि सो समयसीमाभित्र महाधिवेशन सम्पन्न हुन नसके धारा १७ (२) अनुसार विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्ने विधानमा उल्लेख छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले यसअघि २०८२ पौष २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको भए पनि तोकिएको समयभित्र महाधिवेशन सम्पन्न हुन सकेन। यस्तो अवस्थामा विधानअनुसार विशेष महाधिवेशनको माग स्वतः निर्विकल्प विकल्प बनेको नेताहरूको भनाइ छ। विधानको बाध्यकारी व्यवस्थाअनुसार २०८२ पौष २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने प्रावधान रहेको भन्दै यसलाई उल्लंघन गर्ने अधिकार कसैलाई पनि नरहेको नेता पोखरेलले बताए।