काठमाडौं । कोशी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गरेका हुन् ।
नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच समान भागबण्डा गरिएको छ । दुवै दलबाट ४/४ जना मन्त्री र १/१ जना राज्यमन्त्री सरकारमा सहभागी भएका छन् ।
प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र इन्द्रमणि पराजुलीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी विदुरकुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोलाई सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बूलाई स्वास्थ्य मन्त्रालय र इसाइल मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आजै (मंगलबार, पुस २२) पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् ।