काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निर्वाचन तत्काल सम्भव नदेखिएको बताएका छन्। मंगलबार बसेको सचिवालय बैठकमा उनले एमाले र कांग्रेस नजिकिँदा सरकार तथा केही विदेशी शक्तिहरूले निर्वाचन सार्ने वा विभिन्न चरणमा विभाजन गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।
ओलीले सर्वोच्च अदालतका न्यायाधीशमाथि दबाब र धम्की दिइएको र संसद पुनःस्थापना हुन नदिने प्रयास भइरहेको बताए। उनले यो प्रक्रियाले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरे। अध्यक्ष ओलीले वैदेशिक हस्तक्षेप स्पष्ट रूपमा देखिन थालेको र नेपालको अस्तित्व तथा राष्ट्रिय अखण्डता जोगाउन चुनौती थपिएको दाबी गरे। यस परिस्थितिमा पार्टीले आन्दोलनलाई सशक्त रूपमा अघि बढाउनुपर्ने र प्रत्येक तहमा युवाहरूको सक्रिय परिचालन आवश्यक रहेको उनले जोड दिए।
उनले ‘नेसनल युथ भोलिन्टियर्स फोर्स’ गठन गरी निर्वाचनको तयारी आन्दोलनकै माध्यमबाट सुरु गर्नुपर्ने सुझाएका छन्। साथै केही व्यक्तिहरू स्वार्थ र विदेशी दलालीमा संलग्न रहेको, विकासको नाममा राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप पनि ओलीले लगाए। अन्ततः उनले भने– नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना बलियो भएकै कारण बंगलादेशमा भएको घटनालाई नेपालमा ‘महान उपलब्धि’ भन्दै दाबी गर्न उनीहरूले सकेका छैनन्। देश ध्वस्त बनाउने जिम्मेवारी अन्ततः उनीहरूले लिनुपर्ने अवस्था आएको उनले स्पष्ट पारे।