समय–समयमा समाजले केही यस्ता पात्र जन्माउँछ, जो आफू बोल्नुअघि समाजलाई बोल्न बाध्य बनाउँछन्। प्रकाश सपुत त्यस्तै एउटा नाम हो। उनी राजनीतिमा प्रवेश गरे भन्ने खबर बाहिरिँदै गर्दा समाज फेरि दुई धारमा बाँडिएको छ। समर्थनभन्दा बढी शंका, स्वागतभन्दा बढी आरोप। विशेषतः उनलाई ‘दलित प्रतिनिधि’को साँघुरो घेराभित्र थुनेर हेर्ने प्रयास तीव्र बनेको छ। तर प्रश्न उठ्छ-प्रकाश सपुतको यात्रा यत्तिमै सीमित छ?
प्रकाश सपुतलाई बुझ्न उनका भाषण होइन, उनका गीत सुन्नुपर्छ, उनले रचना गरेका भिडियो हेर्नुपर्छ। उनले गाएका गीत मनोरञ्जनका लागि मात्र थिएनन्ः ती गीतहरू पीडाको बयान थिए, दबिएका आवाजको प्रतिरोध थिए। “बोल माया”मा विदेशिएका युवाको आँसु छ, “सकम्बरी”मा महिला अस्तित्वको संघर्ष छ, “मेरो पनि हैन र यो देश”मा व्यवस्था र राज्यप्रतिको निराशा छ। उनले कहिल्यै माइक्रोफोन समातेर भाषण गरेनन्, तर उनका शब्दहरूले लाखौँलाई बोल्न सिकाए।
उनी दलित समुदायबाट आएका हुन्, यो सत्य हो। तर उनले उठाएका मुद्दा केवल दलितका थिएनन्। उनका गीतमा पीडित महिला छन्, श्रमिक छन्, गरिब छन्, आवाजविहीन छन्। त्यसैले उनलाई केवल “दलित गायक” भनेर चिनाउनु उनको कर्ममाथिको अन्याय हो। उनले जात होइन, चेतना बोके। पहिचान होइन, प्रश्न उठाए।
आज, जब उनी राजनीतितर्फ उन्मुख छन्, त्यही समाजले उनलाई शंकाको आँखाले हेर्न थालेको छ। कलाकार भएर प्रश्न गर्नु स्वीकार्य, तर नागरिक भएर समाधान खोज्नु अस्वीकार्य किन? गीतमा व्यवस्था आलोचना गर्दा वाहवाही, तर व्यवहारमा जिम्मेवारी लिन खोज्दा विरोध–यो विरोधाभास होइन र?
प्रकाश सपुतले आफ्नो थर ‘सपुत’ केवल नामको पछाडि राखेका छैनन्। उनले त्यो शब्दको अर्थ कर्मबाट अघि सारेका छन्—सपुत, अर्थात् समाजप्रति उत्तरदायी सन्तान। उनले समाजलाई ऐना देखाए, अब सम्भवतः त्यसलाई बदल्ने प्रयास गर्दैछन्। सफल हुने–नहुने भविष्यले निर्णय गर्नेछ। तर प्रयास गर्नुअघि नै अविश्वासको भारी थोपर्नु न्याय होइन।
आज प्रश्न प्रकाश सपुतको होइन, हाम्रो हो। के हामी चेतनशील कलाकारलाई केवल कलाकारमै सीमित राख्न चाहन्छौँ? कि उसले बोकेको चेतनालाई समाज रूपान्तरणतर्फ लैजान दिने साहस पनि राख्छौँरु प्रकाश सपुतमाथिको बहस वास्तवमा समाजको आत्मपरीक्षण हो।