काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर ठूलो गतिरोध सिर्जना भएको छ। ९ वटा मन्त्रालयको बजेटमाथि छलफल भइरहँदा सम्बन्धित मन्त्रीहरू नै उपस्थित नभएपछि नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले रोष्टम छाड्न अस्वीकार गर्दै विरोध जनाएका छन्। सांसद राईको कडा आपत्तिपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
सोमबार बिहान बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न ९ वटा मन्त्रालयको बजेट (विनियोजन विधेयक) माथि दफावार छलफल चलिरहेको थियो। सोही क्रममा आफ्नो धारणा राख्न रोष्टम पुगेका एमाले सांसद राईले हलमा मन्त्रीहरूको कुर्सी खाली देखेपछि असन्तुष्टि पोखेका हुन्।
उनले जसको मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ, ती सबै मन्त्रीहरूको सभामा अनिवार्य उपस्थिति हुनुपर्ने अडान राखे। “सम्बन्धित सबै मन्त्रीहरू बैठकमा उपस्थित भएपछि मात्र म छलफलमा सहभागी हुन्छु र आफ्नो कुरा राख्छु,“ भन्दै राईले रोष्टममै उभिएर विरोध जनाए।
सांसद राईले रोष्टम नछाडेपछि र मन्त्रीहरूको उपस्थिति नदेखिएपछि सभामुखले बैठकलाई १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरेका हुन्। बजेट जस्तो महत्त्वपूर्ण विषयको छलफलमा कार्यपालिका र मन्त्रीहरू गैरजिम्मेवार बनेको भन्दै संसदमासांसदहरूले समेत आक्रोश व्यक्त गरेका छन्।