काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहलाई आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाएका छन्।भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नू भन्ने अभिव्यक्ति दिएपछि उपसभापति शर्माले यस्तो आग्रह गरेका हुन्।
उनले एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘एकजना मन्त्रीजी सडकमा पुग्नुभएर भन्नुभएछ यो बाटो निर्माणमा ढिलो जो भइरहेको छ, निर्माण व्यवसायीलाई भेट्नुभयो भने खुट्टा भाँच्दिनुस्। सुदूरपश्चिमबाट केही दिन अगाडिको मात्रै खबर आएको थियो धनगढीबाट कर्मचारीहरू मिलेर एक श्रमिक महिलाको टेम्पोलाई भीरबाट धकेलिदिए।’
उनले मधेस प्रदेशको सिराहाको परीक्षा हलमा भेटिएका ५०० भन्दा बढी मोबाइललाई पानीमा चोपेर नष्ट गरिएको स्मरण गरे।
उनले प्रधानमन्त्रीलाई सोधे, ‘समाज कता जाँदै छ? तर यहाँले पनि चुनावकै बेलामा भन्नुभएको थियो, यदि बाटो निर्माण गर्न ढिलो भयो भने रुखमा बाँधेर समाधान गर्नुपर्छ। म सम्झिन्छु एउटा देशको घटना जहाँ कसैले चोरी गर्यो, चोरलाई सजाय दिनलाई दुइटै हात काटियो। के हामी यस्तै समाजतर्फ जाँदै छौँ?’