काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद चुलिँदै गएको बेला पाँच प्रदेशका सभापतिले नियमित महाधिवेशनमै केन्द्रित हुन पार्टी नेतृत्वलाई अपिल गरेका छन्।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशीका सभापति उद्धव थापा, मधेसका कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गरेका छन्। उनीहरूले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा संयुक्त विज्ञप्ति पेश गर्दै पार्टीलाई नियमित महाधिवेशनतर्फ एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका हुन्। विज्ञप्तिमा भने गण्डकी र लुम्बिनी प्रदेश सभापतिको हस्ताक्षर छैन।