काठमाडौँ । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेकी केन्द्रिय सदस्य भगवती न्यौपानेले सामाजिक सञ्जालमार्फत तीखो राजनीतिक टिप्पणी गरेकी छन्। उनले हिजोको नाकाबन्दी विरोधी आन्दोलन र आजको सामाजिक सञ्जालको अवस्थालाई तुलना गर्दै अहिले “ब्रेन कब्जा” गर्ने खतरनाक रणनीति प्रयोग भइरहेको धारणा राखेकी छन्।
न्यौपानेले लेखेकी छन्, यदि हिजो नाकाबन्दीका बेला आजजस्तै सामाजिक सञ्जालमार्फत जनमतलाई प्रभावित गर्ने प्रविधि प्रयोग गरिएको हुन्थ्यो भने तत्कालीन सरकारलाई घुँडा टेक्न बाध्य पार्ने ठूलो जनपंक्ति तयार भइसक्ने थियो। उनका अनुसार अहिले भने सामाजिक सञ्जालमा अरबौँ रुपैयाँ लगानी गरेर सयौँ नक्कली आईडी बनाइने, सयौँ समूह सञ्चालन गरिने र बाहिर-बाहिर ‘देश बनाउने’ नारा फैलाइने तर भित्रभित्रै देशलाई कमजोर बनाउने योजनाहरू अघि सारिने अवस्था देखिएको छ।
उनले यस्ता योजनालाई उपयोग गरेर केही पात्रहरूलाई कृत्रिम रूपमा लोकप्रिय बनाउने प्रयास भइरहेकोप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेकी छन्। न्यौपानेको भनाइमा, सामाजिक सञ्जाल अब केवल अभिव्यक्तिको माध्यम मात्रै नभई योजनाबद्ध रूपमा जनताको सोच र चेतनामा हस्तक्षेप गर्ने हतियार बन्दै गएको छ।
यद्यपि, उनले निराश होइन, आशावादी सन्देश पनि दिएकी छन्। “हामी जनतालाई सत्य कुरा बुझाउँछौं र देशको स्वाधीनता बचाउँछौं,” भन्दै उनले गलत प्रचार र दुष्प्रचारविरुद्ध सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालको दुरुपयोग, राजनीतिक प्रभाव र राष्ट्रिय स्वाधीनतासँग जोडेर व्यापक रूपमा चर्चा हुन थालेको छ। धेरैले यसलाई अहिलेको डिजिटल राजनीतिप्रति गरिएको गम्भीर चेतावनीका रूपमा पनि व्याख्या गरेका छन्।