काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका नेताहरूले एकपछि अर्को गर्दै उम्मेदवारी फिर्ता लिने क्रम तीव्र बनेको छ। यही क्रममा बन्दसूचीमा रहेका डा. अरनिको पाँडेले पनि आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरूको संख्या छ पुगेको छ।
यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले समानुपातिक उम्मेदवारीबाट पछि हट्ने घोषणा गरिसकेका थिए।
डा. पाँडेले पछिल्लो समय विकसित राजनीतिक अवस्थालाई मध्यनजर गर्दै समानुपातिक बन्दसूचीमा रहिरहनु उपयुक्त नदेखिएको बताएका छन्। उनले हिजो राति बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा बन्दसूचीबाट आफ्नो नाम हटाउने निर्णय जानकारी गराएको बताए।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै डा. पाँडेले लेखेका छन्,
‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ।’
रास्वपाको समानुपातिक सूचीबाट लगातार उम्मेदवारहरू बाहिरिन थालेपछि पार्टीभित्रको आन्तरिक अवस्था र आगामी रणनीतिबारे राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।