वीरगंज । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्सा क्षेत्र नं १ ले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। यस क्रममा निर्वतमान केन्द्रीय सदस्य अरबिन्द सिंहको नाम विशेष रूपमा अगाडि सारिँदा पर्सा क्षेत्र नं १ को राजनीतिक माहोल तातेको छ।
नेकपा एमाले पर्सा क्षेत्र नं १ प्रतिनिधिसभा क्षेत्रीय समन्वय समितिको बैठकले प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको हो। सिफारिस सूचीमा अरबिन्द सिंहको नाम अग्रपंक्तिमा राखिएको पार्टी स्रोतले जनाएको छ। संगठन निर्माणदेखि जनआधार विस्तारसम्म सक्रिय भूमिका खेल्दै आएका सिंहलाई यस क्षेत्रका अनुभवी, जनमुखी र प्रभावशाली नेताका रूपमा हेरिँदै आएको छ।
पार्टीभित्र मात्र होइन, स्थानीय तहमा पनि सिंहको पकड बलियो रहेको बताइन्छ। पर्सा क्षेत्र नं १ का विभिन्न समुदायसँग सन्तुलित सम्बन्ध राख्दै आएका उनले विकास, रोजगारी, शिक्षा र सामाजिक न्यायका मुद्दालाई निरन्तर उठान गर्दै आएका छन्। यही कारण यसपटकको निर्वाचनमा उनलाई एमालेको बलियो दाबेदारका रूपमा अगाडि सारिएको विश्लेषण भइरहेको छ।
क्षेत्रीय समन्वय समितिले सिंहसँगै केन्द्रीय सदस्य प्रभु हजरा, सुन्दर कुर्मी, नवराज शर्मा र मेडिकल व्यवसायी बसरुदिन अंसारीको नाम पनि प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको छ। महिला उम्मेदवारतर्फ ममता गुप्ता र इन्दु घिमिरेको नाम सिफारिस सूचीमा समेटिएको छ।
पार्टी स्रोतका अनुसार, क्षेत्रीय समितिबाट आएका नामहरूलाई प्रदेश र केन्द्रीय तहमा छलफलपछि अन्तिम टुंगो लगाइनेछ। तर, सिफारिस प्रक्रियामै अरबिन्द सिंहको नाम केन्द्रमा आउनुले पर्सा क्षेत्र नं १ मा एमालेको उम्मेदवार चयनलाई लिएर चासो र राजनीतिक सरगर्मी उल्लेखनीय रूपमा बढाएको छ।