काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नजिक रहेर काम गरिरहेका सुनिल लम्सालको नाम चर्चामा आएको छ।
रास्वपा स्रोतका अनुसार पार्टीमा एक जना थप महामन्त्री नियुक्त गर्ने सहमति यसअघि नै भइसकेको र सो पदमा बालेन समूहबाट व्यक्तिलाई अघि सार्ने समझदारी बनेको हो।
यसैअनुसार आइतबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीसहित चार जना नयाँ पदाधिकारी थप्ने निर्णय गरिसकेको छ। अहिले पार्टीको केन्द्रीय कार्यालयमा नयाँ पदाधिकारी को–को हुने भन्ने विषयमा आन्तरिक छलफल चलिरहेको छ।
छलफलमा सहभागी एक नेताका अनुसार बालेन समूहबाट आउने नामको प्रतीक्षा भइरहेको छ। बालेन निकट नेताहरूले भने आफ्नो समूहबाट सुनिल लम्सालको नाम महामन्त्रीका लागि अघि सार्ने विषयमा सहमति भइसकेको बताएका छन्।
“हाम्रो तर्फबाट सुनिलजीको नाम फाइनल भएको छ,” बालेन समूहका एक नेताले भने, “अन्तिम समयमा केही परिवर्तन भएन भने उहाँलाई नै महामन्त्री बनाउने प्रस्ताव अघि बढाइनेछ।”
लम्साल पेशाले इन्जिनियर हुन् र हाल काठमाडौं महानगरपालिकामा विज्ञका रूपमा कार्यरत छन्। मेयर बालेन शाह निर्वाचित भएदेखि नै उनी एउटै टिममा रहेर निरन्तर काम गर्दै आएका व्यक्ति हुन्।