काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे आयोजना हुने छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।
यसअघि शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यस्तै, कांग्रेस केन्द्रीय कार्यालयमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्तावसमेत हाल विचाराधीन अवस्थामा रहेको छ।