काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष र ३३ जना कार्यकर्ताले पार्टी छोड्ने निर्णय गरेका छन्। उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा छन्।
जिल्ला अध्यक्ष तुल्सी थारुले पार्टीको नेतृत्व, कार्यशैली र संगठन सञ्चालनमा असहमति रहेको भन्दै पुस १९ गतेदेखि लागू हुने गरी पार्टीमा रहेका सबै जिम्मेवारीसहित साधारण सदस्यबाट राजीनामा दिएको जानकारी दिए। उनले भने, “कार्यकर्ताको भावना र जनताको चाहना विपरीत पार्टी अघि बढेको महसुस भएपछि यसमा रहिरहनु नैतिक रूपमा उचित होइन।”
राजीनामा दिने सूचीमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत रहेका छन्। पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समिति पनि रास्वपा मा समाहित हुने तयारीमा रहेको बताइएको छ।