काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना र आगामी निर्वाचनलाई एकसाथ उपयोग गर्ने तयारीमा एमाले रहेको बताएका छन्। उनले संवैधानिक प्रक्रियाको छिटो निरुपण नहुँदा जटिलता बढ्न सक्ने चेतावनी दिएका छन्।
भट्टराईले एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आएर प्रेस सम्मेलनमा भने, “संसद पुनःस्थापना नभए मुलुक फागुन २१ को निर्वाचनमा केन्द्रित हुनेछ।” उनीसहित पार्टीले ताप्लेजुङबाट पाँच जनालाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ। भट्टराईले भने, “पहिले पार्टी, दोस्रो चिन्ह, तेस्रो व्यक्ति।
”कार्यक्रममा सहभागी एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेबेले बाहिरी शक्तिको प्रभावमा भदौ २३–२४ का घटना भएको आरोप लगाए। उनले भने, “जनताको आस्था र धरोहरहरू जोगाउनु हाम्रो जिम्मेवारी हो।” एमाले ताप्लेजुङको बैठकले भट्टराई, थेबे, तिलकुमार मेन्याङ्वो, टंक आङवुहाङ र भीमादेवी ओझालाई आगामी निर्वाचनका लागि पार्टी सिफारिस गरेको जानकारी कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमूले दिए।