काठमाडौँ । आगामी निर्वाचन २०८२ लक्षित गल्ली एपको उद्घाटन गरिएको छ । शनिबार ललितपुरको पाटनमा आयोजित एक कार्यक्रम माफत सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मोवाईल माफत एपको उद्घाटन गरेका हुन् ।
गल्ली एपको उद्घाटन पछि बोल्दै सञ्चारमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन हुने बताए । उनले, तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता समेत जनाएका छन् । उनले अब युवा पुस्ता राजनीतिमा अगाडि आएको बताउँदै मुलुक परिवर्तनको बाटोमा अघि बढिरहेको बताए ।
उनले,‘देशमा चुनाव फागुन २१ मा हुँदैछ । यो चुनावमा यहाँहरू सबैलाई म आग्रह गर्न चाहन्छु । कृपया यस पटक हामीले गल्ती नगरौँ । राम्रो नेता र राम्रो नेतृत्व हामीले ल्याउन जरुरी छ । अब मुलुक परिवर्तनको बाटोमा अघि बढ्दैछ । अब युवा पुस्ता राजनीतिमा अगाडि आउँदैछ र देशको अनुहार बदलिँदै छ । यो बद्लिने कुरामा यहाँहरू सबैको साथको अपेक्षा सरकारले राखेको छ । र यो सरकार समयमै चुनाव गराउने कुराहरूमा निष्पक्ष निर्वाचन गराउने कुरामा, धाँधलीरहित निर्वाचन गराउने कुरामा प्रतिबद्ध छ ।’
‘जेनजीको आन्दोलन सफल भयो । जेनजीले हामीलाई सरकारमा पठायो । उ सरकारमा गएन । सत्ता मागेन र हामीलाई फेरी भन्यो सुशासन देऊ । हामी अहिले त्यो पछ्याउने कोशिस गरिरहेको छौं । जुन निस्वार्थ रगत जेनजी आन्दोलनमा बगाएको छन् त्यो खेर जान दिनुहुँदैन,’उनले भने । मन्त्री खरेलले फागुन २१ मा निर्वाचन हुन्छ हुँदैन भन्ने दुविधा अब हटेको दाबी गरे ।