काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बारे कानूनविद्हरूसँग छलफल गरेका छन्।
शनिबार उनीहरुले महाराजगञ्जस्थित एक होटलमा विशेष महाधिवेशन बोलाउनबारे कानुनीहरूसँग परामर्श लिएका हुन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोजको २९ गते विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित बुझाएका थिए। तर बहुमतले विशेष महाधिवेशनको मागलाई वेवास्ता गरेपछि महामन्त्रीद्वयले विधानअनुसार बोलाउने तयारी गरेका हुन्।
छलफलमा वरिष्ठ अधिवक्ताहरू यदुनाथ खनाल, प्रेम खड्का, डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसी र पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे लगायत डेढ दर्जन कानुन व्यवसायीहरूको सहभागिता थियो।
परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताए । कानुन व्यवसायीहरूले विधान अनुसार माग भएको महाधिवेशन बोलाउन सकिने सुझाव दिएका छन् ।