काठमाडौँ । युवा उद्यमी सचिन ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचनको उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् ।
सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा रहेका उनले समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै नाम फिर्ता लिएको बताएका हुन्।
उनले भनेका छन्, ‘उद्यमशीलताको प्रवर्धन मार्फत् सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरु अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।’
पद र शक्ति भन्दा पनि उद्यमशीलतामार्फत सामाजिक रूपान्तरण सम्भव रहेको ढकालको विश्वास छ । उनले आगामी दिनहरूमा राष्ट्र र समाजको हितमा कुनै पनि राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा आफू सधैँ तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस अघि आशिफ शाह,त्रिशला गुरुङ लगायतले समानुपातिक उम्मेदवारीको बन्द सूचीबाट नाम फिर्ता लिइसकेका छन् ।