काठमाडौ । पार्टी एकताको सहमति गरेको एक साता नबित्दै कुलमान घिसिङ रास्वपासँग असन्तुष्ट बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणलगत्तै पार्टीभित्र असन्तुष्टि देखिएको हो । विवादकै बीचमा उज्यालो नेपाल पार्टी शुक्रबार समानुपातिक सूचीका बारेमा बुझ्न निर्वाचन आयोग पनि पुगेको थियो ।
निर्वाचन आयोगका अनुसार उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायसहितको टोली निर्वाचन आयोग पुगेको थियो ।
उनीहरूले आयोगसमक्ष ५० हजार रुपैयाँ धरौटी बुझाएर रसिद लिइसकेको उल्लेख गर्दै ११० जनाको समानुपातिक बन्दसूची पेश गर्न पाउनुपर्ने माग राखेका थिए। सो क्रममा उनीहरूले प्रमुख कार्यबाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेट गरेका थिए।
तर, भण्डारीले उक्त विषय कानुन शाखामा पठाइदिएका थिए। कानुन शाखाले समानुपातिक बन्दसूची बुझाउने समयसीमा समाप्त भइसकेकाले कुनै हालतमा नयाँ सूची दर्ता गर्न नमिल्ने स्पष्ट जवाफ दिएपछि उज्यालो पार्टीको टोली फर्किएको आयोग स्रोतले जनाएको छ ।
यस अघि रास्वपासँग एकताको सहमतिपछि आयोगमा उनेपा पक्षका १८ जनाको नाम बन्दसूचीमा समावेश गरिएको थियो । समानुपातिक बन्दसूचीले रास्वपामा असन्तुष्टि बढेको छ ।
उज्यालो नेपालले सिफारिस गरेका केही नेताहरु नपरेको हुँदा सो समूहभित्र छलफल भएको बताइएको छ । सो पार्टीमा रहेका एक नेताका अनुसार सच्याउन दिएको समय कुर्ने र त्यसपछि नभए छुट्टै रणनीति तय गर्ने तयारी रहेको छ ।