काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशन आगामी वैशाखमा गर्ने प्रस्ताव पारित भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको आगामी वैशाखमा १५औँ महाधिवेशन गर्न प्रस्ताव पारित भएको हो ।
पारित प्रस्तावअनुसार २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा १५औँ महाधिवेशन गर्नेछ ।
आगामी चैत २१ गते गाउँ/नगर वडा अधिवेशन गर्ने, चैत २५ गते गाउँ/नगरपालिका अधिवेशन गर्ने र चैत २८ गते प्रदेशसभा अधिवेशन हुने भएको छ ।
प्रतिनिधिसभा क्षेत्री अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०८३ वैशाख ५ गते हुने भएको छ । २०८३ वैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन हुने भएको छ ।