काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधिसभा निर्वाचनअघि राजनीतिक दल र नागरिक समाजबीच राष्ट्रिय समझदारी आवश्यक रहेको भन्दै त्यसका लागि अपिल गरेका छन् ।
देशमा देखिएका राजनीतिक, प्रशासनिक र संस्थागत समस्याहरूको समाधान चुनाव र सरकार परिवर्तनले मात्रै सम्भव नहुने उनको दाबी छ ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले दलहरूमा देखिएको समानुपातिक सूची निर्माण, नेतृत्व चयनको विवाद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक परिषद्हरूमा देखिएको संस्थागत संकटलाई उदाहरण दिँदै यी समस्याको दीर्घकालीन समाधानका लागि साझा समझदारी अपरिहार्य भएको बताए ।
उनका अनुसार, चुनावपछि बन्ने संसद र सरकारले कसले नेतृत्व गरे पनि संविधान संशोधन, कानुन सुधार र राज्य संरचनामा आवश्यक परिवर्तन गर्ने विषयमा पहिल्यै सहमति जुटाउन सकिने अवस्था सिर्जना गर्नुपर्छ। ‘भोलि जोसुकै संसदमा आए पनि, हामी सबै मिलेर कम्तीमा यी विषयमा सुधार गर्छौं भन्ने समझदारी हुनुपर्छ,’ थापाले उल्लेख गरे।