काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक अघि बढेको बताएकी छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रधानमन्त्री कार्कीले सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन गर्ने गरी वर्तमान सरकार गठन भएको भन्दै सरकार राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुगेको बताएकी हुन्।
उनले राजनीतिक परिवर्तनले समयानुकूल आम नागरिकको जीविकामा सुधार नसकेको, पेसा, व्यवसाय र रोजगारीका अवसर नभएको र आचरण र व्यवहार पनि न्यायपूर्ण हुन नसकेका कारण जेन-जी आन्दोलन हुन पुगेको उल्लेख गरिन् ।
जेन-जी आन्दोलनपछिको असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै संयमका साथ व्यवहार गरिरहेको उनले बताइन् । प्रधानमन्त्री कार्कीले मुलुकलाई विधिको शासनमा हिँडाउने, लोकतान्त्रिक उपलब्धि जोगाउने र दिगो स्थिरता कायम राख्ने तथा व्यावसायिक वातावरण बनाउनका निम्ति समेत अचुक माध्यम निर्वाचन नै भएको स्पष्ट पारिन् ।
उनले जेन-जी आन्दोलनमा क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि मौद्रिक, वित्त तथा विकास योजनामार्फत निजी क्षेत्रका सबै माग सम्बोधन गरिएको जानकारी दिइन् ।