काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक उम्मेदवार चयन प्रक्रियामा देखिएको विवाद समय अभावका कारण उत्पन्न भएको बताएका छन्। समानुपातिक सूचीलाई लिएर आलोचना बढेपछि कास्की पुगेका लामिछानेले पार्टी विधानभन्दा बाहिर कुनै पनि निर्णय नहुने स्पष्ट पारे। उनका अनुसार रास्वपाको संरचना नै परिवारवाद रोक्ने गरी बनाइएको छ।
कुलमान घिसिङसँग अन्तिम समयमा राजनीतिक सहमति हुँदा सूची बुझाउने समयसँग जुध्न पुगेको र त्यसकै असर सूचीमा देखिएको उनले बताए। “हामी नयाँ राजनीतिक शक्ती हौँ। पछिल्लो राजनीतिक परिस्थितिका कारण निर्णय छोटो समयमै गर्नुपर्यो,” उनले भने, “सहमति र सूची बुझाउने समय एकैपटक परेपछि तयारीमा कमी देखिएको हो।” लामिछानेका अनुसार सूची सार्वजनिक हुनु अघि नै पुनरावलोकन गर्ने समय रहने भएकाले देखिएका समस्या समाधान गर्न सकिने अवस्था छ।
“यदि सूचीमा कुनै त्रुटि वा असन्तुलन देखिए भने पार्टीभित्रै छलफल गरेर मिलाइन्छ,” उनले बताए। पार्टी विधि र प्रणालीमा दृढ रहेको उल्लेख गर्दै उनले परिवारवादको कुनै सम्भावना नरहेको जिकिर गरे। “विधानले नै यस्तो अभ्यास गर्न दिँदैन,” उनले भने, “कसैले नियम नाघेमा विधानअनुसार ‘राइट टु रिकल’ प्रयोग गर्न सकिन्छ, जसको अभ्यास हामीले अघिल्लो संसद्मै गरेका छौँ।” समय अभावका कारण अन्य विषयमा पनि विवाद आउन सक्छ कि भन्ने विषयमा पार्टी सचेत रहेको र सबै विषय क्रमशः समीक्षा गरिने लामिछानेले बताए।