काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरूलाई राजनीतिमा ल्याउने विषयमा नेकपा एमालेले व्यवहारमै उदाहरण प्रस्तुत गरेको बताएकी छन्। मंगलबार काठमाडौँमा आयोजित एमालेको ११औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा बोल्दै डंगोलले अन्य दलहरूले युवाको सहभागिताबारे नारा र भाषणमा मात्रै सीमित हुने गरेको टिप्पणी गरिन्।
एमालेले भने युवालाई नेतृत्व तहसम्म ल्याउने कुरा व्यवहारमै उतारेको उनको भनाइ थियो। उनले युवाहरूलाई पार्टीभित्र मात्रै होइन, केन्द्रीय नेतृत्वसम्म पुर्याउन विशेष संरचना र समूह बनाइएको उल्लेख गरिन्। प्रतिनिधि छनोटदेखि नेतृत्व चयनसम्म ४० वर्षमुनिका युवाहरूको सहभागिता सुनिश्चित गरिएको पनि उनले बताइन्। डंगोलले ११औँ राष्ट्रिय महाधिवेशनबाट आफूले सकारात्मक सोच र चुनौती सामना गर्ने ऊर्जा प्राप्त गरेको अनुभव सुनाइन्।
उनले पहिलो पटक महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुने अवसर पाएको उल्लेख गर्दै, जस्तोसुकै कठिन परिस्थिति आए पनि सकारात्मक रहनुपर्ने पाठ महाधिवेशनले दिएको बताइन्। उनको भनाइमा, एमालेको महाधिवेशनले युवाहरूलाई जिम्मेवारी दिनुका साथै नेतृत्वका लागि तयार पार्ने स्पष्ट सन्देश दिएको छ।