काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग सहकार्यका लागि पुनः छलफल थालेका छन्।
आइतबार रास्वपामा प्रवेश गरेका बालेन र लामिछानले आइतबार राति घिसिङसँग पार्टी एकताबारे छलफल गरेका थिए । तर छलफल निष्कर्षमा नपुगेपछि तीन वटै नेताबीच सोमबार पनि छलफल हुँदैछ ।
छलपलमा सहभागि एक नेताका अनुसार सोमबार निर्णायक छलफल हुनेछ ।शनिबार राति करिब सात घण्टासम्म चलेको वार्तापछि बालेन र रविबीच सहकार्य गर्ने सहमति भएको थियो । जसमा निर्वाचनपछि सरकार सञ्चालनको भूमिका बालेनले लिने र रविले पार्टीको नेतृत्व गर्ने सहमति भएको छ ।
रवि, बालेन र घिसिङबीच एकताको प्रयास भएपनि त्यसमा प्रगति नभएपछि आइतबार बिहान रवि र बालेनबीच एकताको सात बुँदे सम्झौता भएको थियो।
पार्टीमा घिसिङलाई कुन पद दिने भन्ने विषयमा कुरा मिल्न सकेको थिएन । तर रवि–बालेनबीच सहमति भएपछि घिसिङले आइतबार पोखरामा सहकार्य गर्न आफू तयार रहेको बताएका थिए ।