काठमाडौँ । नेपाली कांग्रेसले विगतमा पार्टी परित्याग गरी स्वतन्त्र रूपमा रहेका वा अन्य दलमा संलग्न भएका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्कन आग्रह गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको जानकारी दिँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका तल्ला तहका कमिटीहरूलाई परिपत्रमार्फत जानकारी गराएका छन्।
परिपत्रमा विगतका विभिन्न परिस्थितिका कारण पार्टी छाडेर स्वतन्त्र बनेका, अन्य दलबाट उम्मेदवार बनेका वा प्रचार–प्रसारमा संलग्न भएका व्यक्तिलाई नेपाली कांग्रेसमा पुनः आबद्ध हुन खुला आह्वान गरिएको उल्लेख छ। पार्टीमा फर्किने सदस्यलाई क्रियाशील सदस्यता प्रदान गर्नुका साथै आवश्यक जिम्मेवारीसमेत दिने निर्णय बैठकले गरेको जनाइएको छ।
यसका साथै बैठकले विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रबाट लोकतान्त्रिक मूल्य र मान्यताप्रति आस्था राख्ने व्यक्तिलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। वर्तमान राजनीतिक अवस्थामा पार्टी, लोकतन्त्र र मुलुकको हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय पनि कांग्रेसले गरेको छ।