काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सहभागी रहेको यो सचिवालयको पहिलो बैठक हो। बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारबारे मुख्य छलफल भइरहेको नेताहरूले बताएका छन्।
निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहभागी दलहरूलाई भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन समयसीमा तोकेको छ। यसअघि एमालेले समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची तयार गरिसकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको उक्त प्रारम्भिक सूचीमाथि सचिवालय बैठकमा छलफल भइरहेको नेताहरूको भनाइ छ। बैठकले समानुपातिक उम्मेदवारको अन्तिम सूचीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।