काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन्। आइतबार कास्की, पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खरेलले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको जानकारी दिए।
उनले भने, “पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ। सबै प्रमुख दलहरू निर्वाचनको तयारीमा जुटिसकेका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्। मुलुक निर्वाचनतर्फ अघि बढेको छ।” मन्त्री खरेलले नयाँ दलहरूबीचको एकता र सहकार्यले निर्वाचनको सकारात्मक माहोल सिर्जना गरेको पनि उल्लेख गरे।
उनले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै मुलुक विकास र समृद्धितर्फ अघि बढ्ने बताए। उनले थपे, “नयाँ पुस्ताले उठाएका मागअनुसार निर्वाचनपछि बन्ने सरकारले सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्नेछ।” साथै, मन्त्री खरेलले मिडियाको सामग्री बलियो, सिर्जनात्मक र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छन्, जसले समाचारको सहज पहुँच सुनिश्चित गर्न सकियोस्।