काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबीच भएको सम्झौताले जनताको मत नतान्ने बताएका छन्।
मनिष सुमनले भने, “नयाँ शक्तिहरू एक हुनु राजनीतिक रूपमा सुखद छ, तर संसदीय दलको नेता र प्रधानमन्त्री पहिले नै तय गर्नु हास्यास्पद हो। भविष्यमा चुनावमा के हुन्छ भन्ने नहेरी प्रधानमन्त्री घोषणा गर्नु उचित छैन।” उनले विगतका उदाहरणसमेत उद्धृत गर्दै, चुनाव अघि नेतृत्व तय गर्ने प्रचलन नेपालमा पहिले पनि भएको बताउँदै, “यसलाई सार्वजनिक गर्नु भनेको घमण्डको संकेत हो।
त्यसैले यस सम्झौताले मत तान्ने छैन, तथापि हाम्रो शुभकामना छ,” उनले जोड गरे। आज बिहान भएको रवि–बालेनबीचको सातबुँदे सम्झौतापत्र अनुसार, रवि लामिछाने रास्वपाको नेतृत्व गर्नेछन् भने बालेन शाह आगामी प्रधानमन्त्रीका रूपमा अघि सारिनेछन्। चुनाव चिह्न ‘घण्टी’ र पार्टी संरचना पनि रास्वपाकै रहनेछ।