काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबिच आज शीतल निवासमा भेटघाट भएको छ । राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री खनालबिच बिहान भेटवार्ता भएको हो ।
बिहान १० बजेदेखि करिब एक घण्टा भेटवार्ता भएको जनाइएको छ ।भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका थिए। राष्ट्रपति पौडेलले चित्रकारको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको बताइएको छ।
भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन तथा मुलुकको वर्तमान चुनौतीबारे विस्तृत छलफल भएको छ। निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार, शान्ति सुरक्षा व्यवस्थापन र तोकिएकै समयमा चुनाव गराउने विषयमा दुवै पक्षबिच विचार–विमर्श भएको जनाइएको छ।
साथै, २३ र २४ गते घटेका दुवै प्रकारका घटनाहरू तथा ती घटनाका कारणबारे पनि छलफल भएको स्रोतले जनाएको छ। छलफलका क्रममा हालको सरकार बाध्यात्मक परिस्थितिमा गठन भएको र यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु नै रहेको विषयमा जोड दिइएको थियो ।
निर्वाचनको कुनै विकल्प नरहेको तर त्यसका लागि आवश्यक पूर्वाधार तयारी, सबै राजनीतिक दल तथा सरोकारवाला पक्षबिच सहमति कायम गरी निर्वाचन सम्पन्न गरेर मुलुकलाई नयाँ निकास दिनु अपरिहार्य रहेको धारणा आदान–प्रदान भएको बताइएको छ।