काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठकले अनेरास्ववियु क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा युवा नेता सुन्दर रायमाझीलाई समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा अगाडि बढाउने निर्णय गरेको हो। रायमाझी खस–आर्य समूहबाट समानुपातिक सांसदका लागि सिफारिस भएका छन्।
विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका रायमाझीलाई पार्टीभित्र सक्षम, अनुशासित र वैचारिक रूपमा सशक्त युवा नेताका रूपमा लिइन्छ। लामो समयदेखि राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका उनले संगठन विस्तार, युवाको राजनीतिक सशक्तीकरण तथा वैचारिक प्रशिक्षणमा उल्लेखनीय योगदान पुर्याएका छन्।
यसका साथै, उनी आर्थिक विश्लेषकसमेत हुन्। आर्थिक तथा वित्तीय क्षेत्रको अनुभवले पार्टीका नीति, कार्यक्रम र दृष्टिकोणलाई थप प्रभावकारी ढंगले अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास पार्टीले व्यक्त गरेको छ।
बैठकले रायमाझीसँगै अन्य नेताहरूलाई पनि प्रतिनिधि सभा तथा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ।